काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन्।
सोमबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना खारेज गर्नका लागि सरकारलाई दुई तिहाइ मत चाहिए आफ्नो पार्टीले साथ दिने बताएका हुन्।
मुलुकमा हिन्दु राज्य स्थापना गर्न, राजासहितको प्रजातान्त्रिक शासन व्यवस्थाका लागि सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोग मागे आफ्नो पार्टीले साथ दिने नेता शाहीको भनाइ थियो।
उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनका लागि आफ्नो पार्टीले सदैव पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।








