काठमाडौं– काठमाडौं महानगरपालिकाले खोला–नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्तीहरूमा माइकिङ गर्न थालेको छ। बिहीबार साँझदेखि सुरूमा तीन वटा स्थानमा जानकारी गराउन थालिएको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए।
उनका अनुसार थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा माइकिङ गर्न पठाइएको छ। अवैध रूपमा बनाइएका घर–टहराहरू वैशाख ११ गते साँझ ७ बजेभित्र खाली गर्नू। घर–टहरामा भएका आफ्ना सरसामान, लत्ता कपडा, घरपालुवा, पशुपंक्षी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्न भनिको छ ।
यस्तै प्रहरीले घर–टहराहरूमा बसोबास गर्ने अपांगता भएका, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामीहरूलाई प्राथमिकता दिई अन्यत्र सार्न र यसका लागि काठमाडौं महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिन अनुरोध गरेको छ ।
वैशाख १२ गते बिहान ६ बजेदेखि घर–टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खली गरिने र यस कार्यमा बाधा पुर्याएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी प्रहरीले दिएको छ । माइकिङमा सम्बन्धित मन्त्रालय तथा अन्य अधिकार प्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्बासीहरूको लगत लिने र स्क्रिनिङको काम तत्कालै सुरू गरिने जानकारी पनि दिइएको छ ।
१० देखि १५ दिनभित्रै यकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने र कसैले सूचना अटेर गरेमा संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैं हुनुपर्ने भनिएको छ ।
प्रधानमन्त्री बालेन शाहले बुधबार सुरक्षा प्रमुखहरूलाई शनिबार र आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए। सुकुम्बासी बस्ती हटाउने सुरूआत काठमाडौं उपत्यकाबाटै गर्न निर्देशन दिएका थिए।







