images
images

होटल र रिसोर्टहरूमा कार्यक्रम नगर्न भूमि व्यवस्था मन्त्रालयको निर्देशन

काठमाडौं-  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा महाशाखालाई कार्यक्रमहरू होटल तथा रिसोर्टहरूमा नगर्न निर्देशन दिएको छ।

मन्त्रालयले जारी गरेको परिपत्रमा वार्षिक कार्यक्रम, तालिम, सेमिनारलगायतका गतिविधि सकेसम्म आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र सञ्चालन गर्न भनिएको छ।

परिपत्रमा मन्त्रालयअन्तर्गतका विभाग, आयोग, प्राधिकरण, प्रशिक्षण केन्द्र तथा अन्य निकायलाई लक्षित गर्दै सरकारी स्रोतसाधनको मितव्ययी र प्रभावकारी उपयोगमा जोड दिइएको उल्लेख छ।

मन्त्रालयका अनुसार सहकारी कार्यक्रमहरूमा अनावश्यक खर्च नियन्त्रण गर्न यस्तो निर्देशन दिइएको हो । साथै, निर्धारित मापदण्डअनुसार कार्यक्रम सञ्चालन गर्न सबै निकायलाई आग्रह गरिएको छ।