काठमाडौँ– विपक्षी दलहरुले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गर्दै राष्ट्रपति रामचन्द्र पौडेल गुहार्ने निर्णय गरेको छ।
कांग्रेस दलको कार्यालयमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाका सांसद सरस्वती लामासहितको बैठकले राष्ट्रपति गुहार्ने निर्णय लिएको हो।
सरकारले सोमबार संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने दुई वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पेश गरेको छ। त्यस्तै मंगलबार थप तीनवटा अध्यादेश पनि स्वीकृतिका लागि पेश भएका छन्।
जसमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि आध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालय सम्बन्धि अध्यादेश जारी गर्न सिफारिस भएको छ।
बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी तीन दलको बैठकले संसद छलेर ल्याएको अध्यादेशको विरोध गर्ने निर्णय गरेको हो।
विपक्षी दलहरुले अध्यादेशलाई स्वीकृत गर्न राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।
उनले भने, ‘राष्ट्रपति समक्ष सिफारिस भई गएका अध्यादेशहरु संसद छल्ने उद्देश्यका साथ सिफारिस भई आएका हुनाले स्विकृत नगर्न सम्माननीय राष्ट्रपति समक्ष हार्दिक अनुरोध गर्दछौँ।’
उनीहरुले सरकारलाई अध्यादेश फिर्ता लिएर तत्काल संसद बैठक बोलाउन माग गर्ने भएका छन्।
‘संसदको अधिवेशन आव्हान गरे लगत्तै स्थगन गरी यसरी अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएकोले हामी घोर विरोध, भत्सर्ना र निन्दा गर्दछौँ, विपक्षी दलहरुले संयुक्त निर्णय गर्दै अगाडि भनेका छन्, ‘अध्यादेशहरु अविलम्ब फिर्ता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ।’









