काठमाडौं- राजस्व अनसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दम्पत्ति विरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबर बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ।
विभागले काठमाडौं जिल्ला अदालत बबरमहलमा बुधबार अभियोगपत्र दर्ता गरेको निर्देशक सचितकुमार वाइवाले जानकारी दिए ।
पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १ सय ५३ र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बराबर बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।
विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) को खण्ड ‘क’, ‘ख’ र ‘ग’ मा उल्लेखित कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरेको जनाएको छ।
विभागका अनुसार उनीहरूले विदेशी विनिमय अपचलन गरी कारोबार गरेको सम्बन्धमा ६२ करोड ६५ लाख ९१ हजार ८ सय ९३ रुपैयाँ बिगो कायम गरी १४ असोज २०८१ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो। उक्त मुद्दा सम्बद्ध कसुरबाट आर्जित सम्पत्ति सम्बन्धमा अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुर समेत गरेको अनुसन्धानबाट स्थापित हुन आएको समेत विभागले आफ्नो सूचनामा उल्लेख गरेको छ।