images
images

कोहलपुरमा सुकुम्वासी बस्ती खाली गराउने निर्णयप्रति नेकपाको आपत्ति

कोहलपुर, बाँके — कोहलपुर नगरपालिकाले २०८३ वैशाख १६ गते सुकुम्वासी बस्ती खाली गर्न जारी गरेको सूचनाप्रति नेपाली कम्युनिष्ट पार्टी (नेकपा), कोहलपुर नगर समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।

पार्टीले एक विज्ञप्ति जारी गर्दै स्थानीय सरकारले सुकुम्वासी परिवारलाई स्थायी बसोबास र जीविकोपार्जनको वैकल्पिक व्यवस्था नगरी जबरजस्ती हटाउने तथा झुप्रा भत्काउने कार्यप्रति कडा असहमति व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ कि यस्तो कदमले भूमिहीन सुकुम्वासी तथा भूमिहीन दलित परिवारहरूलाई थप समस्यामा पार्नुका साथै सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर पार्ने खतरा बढाउनेछ।
नेकपाले सार्वजनिक जग्गा अतिक्रमण हटाउनु अघि त्यहाँ बसोबास गरिरहेका भूमिहीन सुकुम्वासी र दलित समुदायको उचित व्यवस्थापन तथा पुनर्वास सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ।

पार्टीले सरकारलाई अझ लोकतान्त्रिक बन्न, सुकुम्वासी, किसान, मजदुर तथा उत्पीडित समुदायप्रति जिम्मेवार र सहिष्णु व्यवहार गर्न आग्रह गरेको छ। साथै सामाजिक न्याय र सुशासनलाई प्राथमिकतामा राख्न पनि सुझाव दिएको छ।
विज्ञप्तिमा लोकतन्त्रको सुदृढीकरण जनताको अधिकार सुनिश्चित गरेर मात्र सम्भव हुने उल्लेख गर्दै, घरबास उजाडेर होइन, सुकुम्वासी तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण गर्दै समृद्धि हासिल गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।