काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन्।
बिहीबार राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको जानकारी दिएको हो।
विकास निर्माणका काम र सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित बनाउन सरकारले यो अध्यादेश ल्याएको बुझिएको छ। सरकारले आह्वान भइसकेको संसद अधिवेशन स्थगित गरेर छवटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाएको थियो।
जसमध्ये बिहिबार सार्वजनिक खरिदसँगै सहकारी सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश पनि जारी भएको छ। सरकारले अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएपछि विपक्षी दलहरूले आपत्ति जनाउँदै स्वीकृत नगर्न राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए।
जसका कारण राष्ट्रपति पौडेलले बिहीबार अध्यादेशका बारेमा संविधान तथा कानुनका जानकारहरुसँग परामर्श गरेका छन्।









