काठमाडौं – विचौलिया दिपक भट्ट जोडिएका ८ कम्पनीका संस्थापक सेयरधनीहरूको विवरण छानबिन सुरु भएको छ । विभागले अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि भट्ट संलग्न विभिन्न कम्पनीका संस्थापक सेयर खरिद गर्ने व्यक्तिसँग सम्बन्धित विवरण पेस गर्न सार्वजनिक सूचना जारी गरेको हो ।
विभागले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन रिइन्स्योरेन्समा संस्थापक सेयर खरिद गर्नेहरूको विवरण मागेको हो।
विभागका अनुसार बिमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने क्रममा संस्थापक सेयर खरिद गर्नेले चुक्ता पूँजीबाहेक अतिरिक्त शुल्क अर्थात् प्रिमियम बापत विभिन्न व्यक्ति वा संस्थाको बैंक खातामा जम्मा गरेको रकमसम्बन्धी विवरण आवश्यक परेको जनाएको छ ।
‘चुक्ता पूँजीबापत कम्पनीमा भुक्तानी गरेकोबाहेक अतिरिक्त शुल्क ९प्रिमियम० बापत विभिन्न व्यक्ति तथा संस्थाहरुको बैंक खातामा बुझाएको रकमका हकमा के कति रकम, को कस्का नाउँमा रहेको, के कति नम्बरको, के कुन बैंक तथा वित्तिय संस्थाको खातामा, के कुन जम्मा गरेको हो भन्नेसमेतका विवरण फरक नपर्नेगरी विभागको कार्यालयमा सो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र बुझाई दिनुभई अनुसन्धान कार्यमा सहयोग गरी दिनुहुन,’ सूचनामा भनिएको छ ।








