काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सार्वजनिक यातायातलाई उच्चपदस्थ अधिकारीहरूले समेत प्रयोग गर्न सक्ने गरी मर्यादित र भरपर्दो बनाउनुपर्ने बताएका छन्।
यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक यातायातको सुधार नै समृद्धिको आधार भएको बताएका हुन्। सांसद गजुरेलले हालको सडक पूर्वाधार र लगानी निजी सवारी साधनमुखी भएकोमा चिन्ता व्यक्त गरे।
उनले अबका सडक र यातायात प्रणाली मानवमैत्री हुनुपर्ने र त्यसमा सार्वजनिक यातायातको भूमिका प्रमुख हुनुपर्ने बताए। उनले यातायात क्षेत्रमा देखिएका विकृति र सिन्डिकेटको अन्त्यका लागि सरकारले निगरानी गर्ने चेतावनीसमेत दिए।
उनले सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनलाई दुरुस्त अवस्थामा राख्न र सडक सुरक्षाका मापदण्ड पालना गर्न व्यवसायीहरूलाई आग्रह गरे।
यातायात क्षेत्रमा व्यवसायीहरूको १३ खर्ब रुपैयाँ लगानी रहेको र ११ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको तथ्यलाई स्मरण गराउँदै उनले यस क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताए।
संघीय र प्रदेश सरकारबीच कार्यक्षेत्रको विषयमा देखिएका केही विवाद सुल्झाउन ‘सार्वजनिक यातायात प्राधिकरण’ मार्फत कानुनी सुधारको प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए।
उनले भने, ‘मैले सार्वजनिक बसमा यात्रा गरिरहँदा सर्वसाधारणले एक सांसदले यसरी यात्रा गर्छन् भन्ने विश्वास नै गर्न सकेनन्। यसले के देखाउँछ भने हामीले हाम्रो सार्वजनिक यातायातलाई अझै पनि सबैको रोजाइ र चढ्नयोग्य बनाउन सकेका छैनौँ। हामीले नीतिगत तहमा काम गर्छौँ, तपाईंहरू व्यवस्थापनको तहमा काम गर्नुहोस्। सार्वजनिक यातायातलाई यस्तो बनाऔँ कि हामी सबैले आफ्ना निजी सवारीसाधन छोडेर सार्वजनिक बस चढेर कार्यालय जान सकौँ।’








