images
images

सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच स्वास्थ्य सेवा सम्झौता

काठमाडौं — सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) बीच स्वास्थ्य सेवा प्रवाह सम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक प्रेमप्रसाद आचार्य र KIOCH का अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले हस्ताक्षर गरेका हुन्।

यस सम्झौतासँगै कोषमा आबद्ध योगदानकर्ताका आश्रित सन्ततिहरूले KIOCH मार्फत सामाजिक सुरक्षा कोषअन्तर्गत उपलब्ध स्वास्थ्य सेवा सुविधा प्राप्त गर्न सक्नेछन्। यसले विशेषगरी बाल स्वास्थ्य सेवामा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले योगदानकर्तामैत्री स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय उपचारमा पहुँच वृद्धि तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

सामाजिक सुरक्षा कोषले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य विस्तार गर्दै योगदानकर्तालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तर अघि बढाइरहेको छ।