images
images

मानसरोवर कैलाशका लागि भारतीय पर्यटक आउन सुरु

हुम्ला – यस वर्षका लागि मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटक आउन थालेका छन्। सिजन सुरु भएपछि नेपालगंजबाट हवाई मार्ग हुँदै सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटकहरु आउन सुरु भएको हो।

यस वर्षका लागि मानसरोवर कैलाशको दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकहरुको पहिलो समुह नेपालगंजबाट हवाई मार्ग हुँदै सिमकोट आई पुगेको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए। पहिलो दिन जहाजबाट पच्चीस जना भारतीय धार्मिक पर्यटकहरु सिमकोट आई पुगेका हुन।

पहिलो टोलीलाई सिमकोट बिमानस्थल पुगेर सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी र प्रजिअ टेककुमार रेग्मीले भातरी धार्मिक पर्यटकलाई स्वागत गरेका थिए। लिपुलेक हुँदै भारतबाट आएका पर्यटकहरु जाने संसय भई रहेका बेला हुम्लाको सिमकोट हुँदै हिल्साबाट मानसरोवर कैलाशको धार्मिक यात्रा सुरु भएपछि हुम्लाका पर्यटक व्यवसायी खुसी भएका छन्।

यसले हुम्लाको होटेल ब्यवसाय, कृषक, भरिया र यातायात ब्यवसायीलाई प्रत्यक्ष फाईदा पुग्ने बिस्वास गरिएको छ। यस वर्ष पन्द्र हजार भन्दा बढी भारतीय पर्यटकहरुले सिमकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने गरि बुकिङ भई सकेको पर्यटक ब्यवसायीले जानकारी गराएका छन्।

२०७२ सालको महाभुकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटकहरु आउन सुरु भएको थियो। बिचमा कोरोना अवधिमा हिल्सा नाका बन्द हुँदा पर्यटक आउन पनि बन्द भएको थियो। गतवर्षबाट चीनले भारतीय पर्यटकहरुलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गतवर्ष चार महिनामा छ हजार पाँच सय भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए।