धादिङ— धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ ओडारे निवासी आगलागी पीडित जीवन थापाको परिवारलाई मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा धादिङ ले आर्थिक सहयोग प्रदान गरेको छ।
गत चैत २४ गते राति भएको भीषण आगलागीका कारण घरगोठ, अन्नपात, लत्ताकपडा तथा पशुचौपाया गुमाएर समस्यामा परेका थापा परिवारलाई फाउण्डेशनको संयोजनमा संकलित रु. १ लाख ६० हजार २ सय नगद सहयोग हस्तान्तरण गरिएको हो।
विभिन्न व्यक्ति तथा संस्थाबाट संकलित उक्त सहयोग रकम फाउण्डेशन धादिङका अध्यक्ष उमेश कुमार थापा को नेतृत्वमा पीडितको घरमै पुगेर हस्तान्तरण गरिएको थियो।
सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटी वडा नं. ३ का वडा अध्यक्ष भीम कुमार थापा, वडा अध्यक्ष कमल बहादुर थापा लगायत स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
मानवीय सहायता तथा विपद् सहयोग अभियानअन्तर्गत सञ्चालन गरिएको सहयोग संकलन अभियानलाई प्रभावकारी बनाउन तारकेश्वर गाउँपालिका का पूर्व अध्यक्ष तथा समाजसेवी रमेश कुमार वस्ती र समाजसेवी ज्ञानेन्द्र कुमार थापा ले विशेष भूमिका निर्वाह गरेका थिए।
फाउण्डेशनका अध्यक्ष उमेश कुमार थापाले संस्थाले राजनीतिक सीमाभन्दा माथि उठेर समाजसेवा, मानवीय सहयोग तथा विपद्का कठिन घडीमा नागरिकको साथमा निरन्तर उभिँदै आएको बताए।साथै यस मानवीय सहयोग अभियानमा साथ, सहयोग र सद्भाव प्रकट गर्ने सम्पूर्ण सहयोगीदाता, समाजसेवी तथा शुभेच्छुकहरूप्रति फाउण्डेशनले कृतज्ञता व्यक्त गरेको छ।








