images
images

वैदेशिक रोजगारीका समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर : मन्त्री यादव

काठमाडौं — युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव ले वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर भएर काम गरिरहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि प्रभावकारी कदम चालिएको जानकारी दिए। उनले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विद्यमान कानुनी व्यवस्था तथा संरचनालाई थप सक्रिय रूपमा परिचालन गरिने बताए।

मन्त्री यादवका अनुसार वैदेशिक रोजगारीका क्रममा हुने ठगी तथा पीडितका उजुरीबारे मन्त्रालयले अध्ययन र अनुगमन गरिरहेको छ। उनले यस्ता घटनामा संलग्नमाथि आवश्यक कारबाही गरिने संकेत पनि गरे।

सरकारको मुख्य नीति स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी युवाहरूलाई देशभित्रै अवसर उपलब्ध गराउने रहेको उनले उल्लेख गरे। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न सरकार पूर्ण रूपमा चनाखो रहेको भन्दै उद्धारको प्रतीक्षामा रहेका नेपालीप्रति सरकार संवेदनशील रहेको बताए।