images
images

वीरगञ्ज महानगरपालिकामा मेयर सिंहबिरुद्ध पक्राउ पुर्जी

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुर (किर्ते) मुद्दामा पक्राउ पुर्जी जारी गरेकाे छ।

अदालतले मंगलबार अनुसूची–२२ अनुसार पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार अदालतबाट जारी भएको पक्राउ पुर्जी प्रहरी कार्यालयमा प्राप्त भएको छ।

जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले पनि नगरप्रमुख सिंहविरुद्ध परेको चार मुद्दामध्ये लिखतसम्बन्धी कसुरमा पक्राउ अनुमति जारी भएको जानकारी दिए।

सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको भनेर जाहेरी परेको थियो। सोही कसुरमा उनलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हाे।

वीरगञ्जका स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले अनुसन्धानका लागि अनुमति दिएको हो। १३ साउन २०७५ मा वीरगञ्ज महानगरपालिका–३ का रुबिना श्रेष्ठले नेपाली नागरिकता प्राप्त गरेकी थिइन्। उक्त नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख गरिएको थियो। पछि ८ फागुन २०७६ मा जिल्ला प्रशासन कार्यालय पर्साबाट त्यसको प्रतिलिपिसमेत जारी भयो। तर, नागरिकतामा आमाको नाम उल्लेख नभएको, जन्ममिति २०५९ असार ३० गते राखिएको तथा नगरप्रमुख सिंहको आधिकारिक पारिवारिक विवरणसँग मेल नखाएको भन्दै विवाद सुरु भएको थियो।

नगरप्रमुख सिंहको सार्वजनिक रूपमा चिनिएको परिवारमा श्रीमती अन्नपूर्णा मानन्धर र एक छोरा अनिशमान सिंह मात्र छन्।