images
images

इजरायलका लागि खुल्यो २३ सय रोजगारी, करिब साढे ३ लाख तलब

काठमाडौं- वैदेशिक रोजगार विभाग ले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि २३०० जनाको माग खुलाएको छ। यस अन्तर्गत महिला ६० प्रतिशत र पुरुष ४० प्रतिशत कोटा निर्धारण गरिएको छ। छनोट भएका कामदारले मासिक ६४४३.८५ इजरायली मुद्रा (३ लाख ४७ हजार बढी) तलब पाउनेछन् भने ओभरटाइम सुविधा पनि इजरायली कानुनअनुसार उपलब्ध हुने जनाइएको छ।

सूचनाअनुसार कामदारले हप्तामा ६ दिन र ४२ घण्टा काम गर्नुपर्ने छ। सुरुमा १ वर्षको करार रहने छ भने आवश्यकता अनुसार थप गर्दै अधिकतम ५ वर्षसम्म काम गर्न सकिने व्यवस्था गरिएको छ ।

आवेदन दिन चाहने उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, २५ देखि ४५ वर्ष उमेर समूहमा पर्नुपर्ने तथा कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी १५ महिनाको अध्ययन पुरा गरेको हुनु पर्ने वा प्सल टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी ३ महिने तालिम लिएको हुनुपर्ने जनाइएको छ। साथै न्यूनतम १.५ मिटर उचाइ र ४५ किलो तौल अनिवार्य गरिएको छ।

इजरायलमा यसअघि काम नगरेका तथा परिवारका सदस्य त्यहाँ बसोबास वा कार्यरत नरहेका व्यक्तिले मात्र आवेदन दिन पाउने व्यवस्था छ। अनलाइन आवेदन २०८३ जेठ १७ गते राति १२ बजेदेखि खुल्नेछ भने असार ७ गते राति १२ बजेसम्म आवेदन दिन सकिने विभागले जनाएको छ। आवेदन विभागको वेबपोर्टल वैदेशिक रोजगार विभाग तथा ferms.dofe.gov.np मार्फत दिन सकिने जनाइएको छ। विभागका अनुसार यस कार्यक्रमले नेपाली युवालाई आकर्षक आम्दानीसहित अन्तर्राष्ट्रिय रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।