मुस्लिम समुदायको महान् पर्व ईद–उल–अज्हा (बकर इद) को अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गरेका छन् ।
मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने तथा खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई ईद–उल–अज्हाको नमाज पढ्नुका साथै शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।
राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विशेष विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबिच आपसी सद्भाव कायम गर्ने उल्लेख गरेका छन् । साथै उनले यस पर्वले सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा आआफ्नो मौलिक संस्कृति तथा परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेका छन् ।
ईद–उल–अज्हा (बकर इद) को माध्यमबाट सबै नेपालीबिच प्रेम, करुणा, त्याग, सहिष्णुता, भद्र राष्ट्रिय एकताको भावना प्रगाढ बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गरेका छन् ।रासस







