images
images

नेपालकाे राजदूत बन्न चाहनुहुन्छ ? अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

काठमाडौँ – सरकारले पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत छनोट गर्नका लागि आवेदन माग गरेको छ । परराष्ट्र मन्त्रालयले नेपालको राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट औपचारिक रूपमा आवेदन आह्वान गरेको हो ।

बिहीबार एक सूचना जारी गर्दै परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबियाका लागि राजदूत पदमा आवेदन माग गरेको छ ।

राजदूत बन्न आवश्यक पर्ने योग्यता 

परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ लाई आधार मानेर राजदूतको न्यूनतम आवश्यक योग्यता तय गरेको छ । जसअनुसार राजदूत पदमा आवेदन दिनका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक (ब्याचलर) तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, नेपालको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा अनुभव भएको, अङ्ग्रेजी भाषामा दक्षता भएको, उच्च नैतिक चरित्र र नैतिक प्रतिष्ठा भएको हुनुपर्ने लगायत शर्तहरू रहेका छन् ।

यस्तै, कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्ने, कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति वा अध्यागमन सुविधा नलिएको हुनुपर्ने, सरकारी सेवाबाट बर्खास्त गरिएको हुनु नहुने वा भविष्यमा सरकारी रोजगारीका लागि अयोग्य घोषित गरिएको हुनु नहुने पनि शर्त रहेका छन् ।

यद्यपि न्यूनतम योग्यताका अतिरिक्त अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिक विज्ञान, कानुन, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर (मास्टर्स वा सोभन्दा माथि) शैक्षिक योग्यता र कूटनीति, अन्तर्राष्ट्रिय व्यापार वा बहुपक्षीय वार्तासम्बन्धी विशेष तालिम वा प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारलाई प्राथमिकता दिइने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको टर्म्स अफ रिफरेन्स (टीओआर) मा उल्लेख छ ।

कसरी दिने आवेदन ?

राजदूत पदका लागि आवेदक आफैँले आवेदन दिन सक्नुका साथै अन्य कुनै योग्य व्यक्तिलाई सिफारिस पनि गर्न सकिने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयको वेबसाइट मार्फत आवेदन बुझाउन वा सिफारिस गर्न सकिनेछ । इच्छुक आवेदकले परराष्ट्र मन्त्रालयको वेबसाइट https://mofa.gov.np/pages/applynow/ मा गएर फारम भरी आवेदन दिन सक्नेछन् ।

उक्त फारमसँगै आवेदकले आफ्नो व्यावसायिक अनुभव, शैक्षिक योग्यता, प्रकाशन तथा सार्वजनिक सेवासम्बन्धी इतिहासको विस्तृत विवरण समेटिएको विस्तृत व्यक्तिगत विवरण (सीभी वा बायोडाटा) पनि अपलोड गर्नुपर्नेछ । मन्त्रालयका अनुसार ५ जुन साँझ ५ बजेभित्रमा आवेदन दिएका आवेदकहरुलाई मात्र राजदूत छनोटको प्रतिस्पर्धामा सहभागी गराइनेछ ।