images
images

देशव्यापी महिला सशक्तिकरण अभियान सञ्चालन गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौँ– प्रधामन्त्री वालेन्द्र शाहले महिला सशक्तिकरणका लागि देशव्यापी अभियान सञ्चालन गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्।

आठौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले लैङ्गिकमैत्री व्यवहारको विकासका लागि देशव्यापी अभियान सञ्चालन गर्न आवश्यक रहेको बताएका हुन्।

उनले राज्यद्वारा अवलम्बन गरिएको समावेशी नीति तथा कार्यक्रमहरूको परिणामस्वरूप राज्यका विभिन्न अङ्ग, क्षेत्र तथा निकायहरूमा महिलाको प्रतिनिधित्व र सहभागितामा उल्लेखनीय वृद्धि भएको बताएका छन्।

तर अझै पनि पितृसत्तात्मक सोच, बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकजस्ता कुप्रथा जस्ता कारणले गर्दा महिला सशक्तिकरणमा व्यवधान सृजना भइरहेको उनको भनाइ छ। ‘सबै प्रकारका लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै महिला सशक्तीकरण तथा न्यायपूर्ण समाज निर्माणमा बाधकका रूपमा रहेका पितृसत्तात्मक सोच, बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकजस्ता कुप्रथा एवं लैङ्गिक, घरेलु तथा डिजिटल हिंसाको अन्त्य गर्न कानुनी उपचारसँगै सामाजिक चेतना अभिवृद्धि र लैङ्गिकमैत्री व्यवहारको विकासका लागि देशव्यापी अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ’, शुभकामना सन्देशमा भनिएको छ।

समतामूलक समाज निर्माणका लागि सरकारले महिलाको सर्वाङ्गीण उत्थान तथा सशक्तिकरणमा विशेष ध्यान दिँदै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्ने नीति अवलम्बन गर्ने शाहले बताएका छन्।

आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तिकरणमार्फत प्रतिस्पर्धात्मक क्षमता विकास, महिलामैत्री व्यवहार र संस्कृतिको निर्माण गर्न एकजुट भएर लाग्न उनले आग्रह गरेका छन्।