काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दिगो नहुने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले यस्ता शक्तिहरूमा विचार र नेतृत्वको अभाव रहेको टिप्पणी गरे।उनले अहिलेको डिजिटल युगमा एजेण्डाहरू सामाजिक सञ्जालबाटै तय हुने र त्यहाँ कुनै निश्चित नेतृत्व नहुने बताए।
उनले भर्चुअल दुनियाँको प्रभावका कारण निर्वाचनका क्रममा मतदान केन्द्रमा भौतिक उपस्थिति कम देखिए पनि परिणाम भने अनपेक्षित आउने गरेको उल्लेख गरे। उनले आफ्ना कार्यकर्ता र संगठनहरूलाई प्रविधिमैत्री बनाउनु चुनौतीपूर्ण रहेको भन्दै भर्चुअल माध्यमबाट उठेका आन्दोलनहरू जति छिटो माथि पुग्छन्, उति नै छिटो पतन हुने तर्क गरे।
उनले नयाँ भनिएका दलका मन्त्रीहरू एक महिनाभित्रै पदमुक्त हुनुले उनीहरूको जग कमजोर रहेको पुष्टि गर्ने दाबी गरे। राजनीतिक विचार, त्याग र बलिदानको जगबिना आएका शक्तिहरूले समाज सम्हाल्न नसक्ने पुनको ठहर छ।
‘भर्चुअल दुनियाँबाट छिट्टै उठेको आन्दोलन तीव्र रुपमा उठ्यो, तीव्र रुपमै तल जान सक्छ,’ उनले भने,’भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ।’








