काठमाडौं, असार — वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (Re-entry) प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको जनाएको छ। नेपाल सरकारको शासकीय सुधारसम्बन्धी कार्ययोजनाअनुसार वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको विभागले जनाएको हो।
विभागद्वारा जारी सूचनाअनुसार यसअघि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले सोही देश र कम्पनीमा पुनः रोजगारीका लागि जान चाहेको अवस्थामा तोकिएका शर्तहरू पूरा गरेमा FEIMS प्रणालीमार्फत स्वचालित रूपमा पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्नेछन्।
स्वचालित पुनः श्रम स्वीकृतिका लागि आवेदकले कम्तीमा तीन महिना वैदेशिक रोजगारीमा बसेको हुनुपर्ने, वैध भिसा भएको हुनुपर्ने, कम्पनीसँगको करार सम्झौता कायम रहेको हुनुपर्ने तथा सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार कल्याणकारी कोष र जीवन बीमासम्बन्धी आवश्यक व्यवस्था पूरा गरेको हुनुपर्ने विभागले जनाएको छ।
विभागले आवेदन गर्दा सही विवरण प्रविष्ट गर्न र आवश्यक कागजात तथा घोषणाहरू यथार्थ रूपमा पेश गर्न आग्रह गरेको छ। गलत विवरण वा अपूर्ण जानकारीका आधारमा प्राप्त स्वीकृतिको जिम्मेवारी सम्बन्धित सेवाग्राही स्वयंले वहन गर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।
यस व्यवस्थाले पुनः वैदेशिक रोजगारीमा जाने श्रमिकको समय, खर्च तथा झन्झट कम हुने अपेक्षा गरिएको विभागको भनाइ छ।








