images
images

मुग्लिन–पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरु

कास्की – पर्यटन राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्गमा दुर्घटना बढेसँगै ‘सेफ्टी अडिट’ सुरु गरिएको छ । स्तरोन्नतिका क्रममा रहेको सो सडकखण्डमा बढ्दो सवारी चाप र दुर्घटनालाई मध्यनजर गर्दै ‘सेफ्टी अडिट’ सुरु गरिएको मुग्लिन–पोखरा सडक आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए ।

उक्त खण्डमा अहिले स्तरोन्नति अन्तिम चरणमा छ । चार लेनमा सडकमा कालोपत्र सकिएको छ । “सडक विस्तार तथा स्तरोन्नति अन्तिम चरणमा छ, सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर सेफ्टी अडिट सुरु गरेका छौँ । अडिटका क्रममा सडकको मोड, चोक, पुल, साइनबोर्ड, डिभाइडर, सडकबत्ती, पैदलयात्रीको आवागमन तथा दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिनेछ”, आयोजना प्रमुख कुँवरले भने ।

सरकारको १०० बुँदे कार्ययोजनामा समेत मुग्लिन–पोखरा सडकमा सेफ्टी अडिट गर्ने र यसको प्रतिवेदन अन्य सडकमा समेत लागू गर्ने उल्लेख गरिएको आयोजनाले जनाएको छ । उक्त प्रतिवेदनका आधारमा आवश्यक स्थानमा थप सुरक्षा व्यवस्था, ट्राफिक सङ्केत चिह्न, रेलिङ, गति नियन्त्रण तथा चेतनामूलक व्यवस्था गरिने जनाइएको छ ।

मुग्लिन–पोखरा सडक देशकै व्यस्त राजमार्गमध्ये एक मानिन्छ । सडक विस्तारका क्रममा कतिपय स्थानमा निर्माण सामग्री, धुलो तथा अस्थायी संरचनाका कारण यात्री तथा चालकले समस्या भोग्दै आएका छन् । वर्षायाम नजिकिँदै गर्दा पहिरो र दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले ‘सेफ्टी अडिट’ गर्न लागिएको हो ।

मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा पाँच वर्षअघि सुरु भएको सडक विस्तार तथा स्तरोन्नति पटकपटक म्याद थप हुँदासमेत अझै पूरा हुनसकेको छैन । तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८ दशमलव ७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ ।

आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गर्दै आगामी असार १५ गतेसम्म पुर्याइएको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ । रासस