काठमाडौँ – भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नबीनबीच भेटवार्ता भएको छ।
दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा मंगलबार दुई नेताबीच भेटवार्ता भएको हो। भेटघाटका क्रममा भाजपा अध्यक्ष नबीनले भारत र नेपालबीच ऐतिहासिक, साँस्कृतिक र सभ्यतागत सम्बन्ध रहेको बताएका थिए। यस प्रकारको राजनीतिक संवादले दुई देशका पार्टीहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे।
अध्यक्ष नबीनले अध्यक्ष लामिछानेसमक्ष भाजपाको स्थापना कालदेखिको यात्रा, यसको विचारधारा, संगठनात्मक संरचना र जनता केन्द्रित राजनीतिक कार्यशैलीका बारेमा जानकारी गराएका थिए।
छलफलका क्रममा लामिछानेले भाजपाको सदस्यता वितरण प्रक्रिया, उम्मेदवार छनोट प्रणाली र तल्लो तहका कार्यकर्ताहरूसँग जोडिने पार्टीको संयन्त्रका बारेमा चासो राखेका थिए।
जवाफमा अध्यक्ष नबीनले भाजपाको संगठनात्मक शक्ति निरन्तर जनसम्पर्क, बुथस्तरको सक्रियता र लोकतान्त्रिक प्रक्रियामा सर्वसाधारण नागरिकको सहभागितामा आधारित रहेको स्पष्ट पारेको भाजपाले जनाएको छ। साथै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको विकासमुखी सुशासन र जनकल्याणकारी मोडल नै भाजपाको जनसम्पर्कको मुख्य कडी रहेको उल्लेख गरे। उनीहरूबीच राजनीतिमा ‘जेनजी’को बढ्दो भूमिका, लोकतान्त्रिक सहभागिता र भविष्यको नेतृत्व निर्माणमा उनीहरूको योगदानका विषयमा समेत छलफल भएको थियो।
उक्त बैठकमा भाजपाका तर्फबाट राष्ट्रिय महासचिव अरुण सिंह, संसद् सदस्य सञ्जय जैसवाल, संसद् सदस्य बन्सुरी स्वराज र वैदेशिक मामिला विभागका प्रमुख डा. विजय चौथाइवालेसहितका नेताहरू सहभागी थिए।
बैठकपछि रास्वपा टोलीले भाजपाको मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो। भेटघाटको समापनमा दिवाभोजको आयोजना गरिएको थियो, जसमा दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता, मनोज तिवारी, प्रविण खण्डेलवाल, हर्ष मल्होत्रा र रामवीर सिंह बिधुरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।









