काठमाडौं- राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा समातिएका पाँच युवालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।
प्रहरीले काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक घर भई तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ घर भएका २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई टोखा नगरपालिका–२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेललाई पक्राउ गरेको हो।
मनमैजु एरियामा राजिव महर्जन समेत व्यक्तिहरुले वन्यजन्तु हात्तीको दाह्राबिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता शरद थापाले बताए। तारकेश्वर–९ मनमैजुमा राजिव, आयुष र टेकले हात्तीको दाह्रा टुक्रा बनाएर राजिवको घरको पूर्वतर्फको खालि जग्गामा गाडेर राखेको पाइएको प्रहरीले बताएको छ। राजीवको घरबाट प्रहरीले हात्तीको दाह्रा दुई टुक्रा र लागु औषध ट्रामाडोल १५० ट्याब्लेट बरामद गरेको छ।
बरामद हात्तीका दाह्रा राष्ट्रपति कार्यालयबाट चोरी भएको पाइएको प्रहरीले बताएको छ।
जेनजी आन्दोलनका क्रममा शीतलनिवासबाट चोरी भएको करिब ९ महिनापछि प्रहरीले दाह्रा चोरीको आरोपमा ५ जनालाई पक्राउ गरेको हो।







