काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको धेरै ठाउँमा सीमाना मिचेको छ भनेर देशद्रोही कुरा गरेको बताएका छन्।
बुधबार नेकपा एमालेको संगठन विभागले आयोजना गरेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालालाई सम्बोधन गर्दै ओलीले नेपालले धेरै ठाउँमा होइन, एक ठाउँमा पनि भारतको जमिन नमिचेको बताउँदै प्रधानमन्त्रीले देशद्रोही कुरा गरेको बताए।
उनले प्रधानमन्त्रीले देश द्रोही कुरा गरेर नेपाली जनालाई हेपेको आरोप लगाए। उहाँ (प्रधानमन्त्री)ले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारतको धेरै ठाउँमा सीमाना मिचेको छ भनेर। धेरै ठाउँमा होइन, एक ठाउँमा पनि एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन’, ओलीले भने ‘प्रधानमन्त्री त्यसदिन (प्रधानमन्त्री संसदमा बोल्ने दिन) न कार्यक्रम, न प्रश्नोउत्तर, न नियमावलीअनुसारको कुरा, न बोलाई, अनि गएर अचानक के सन्देश दिन खोजेको, कसलाई सुनाउन खोजेको, नेपाली जनालाई हेप्न त यो भन्दा बढी हेप्ने ठाउँ नै हुँदैन।’
उनले यस्तो राष्ट्रघाती भाषण संसदबाट बोल्न नहुने बताउँदै कसको हितका लागि, कसको पक्षमा नेपालको अहितमा यत्रो देशद्रोही कुरा गरेको भनेर प्रश्न पनि गरे। प्रधानमन्त्रीले देशद्रोही कुरा गर्दा पनि कतिपय मान्छेहरू समर्थन गरेर हिडेको बताउँदै ओलीले अचम्म लागेको भनाइ राखे।







