images
images

राष्ट्रियता सम्बन्धी अभिव्यक्तिविरुद्ध वाईसिएल गोरखाको विरोध, ज्ञापनपत्र बुझाइयो

गोरखा, असार ३ — राष्ट्रियता तथा नेपालको सीमासम्बन्धी प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिको विरोध गर्दै वाईसिएल नेपाल गोरखाले जिल्ला प्रशासन कार्यालय गोरखामार्फत ज्ञापनपत्र बुझाएको छ।

वाईसिएल नेपाल केन्द्रीय सदस्य तथा गोरखा इन्चार्ज सागर श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको हो।

वाईसिएल नेपालले प्रधानमन्त्रीको अभिव्यक्तिले आम नेपालीको राष्ट्रिय भावना र स्वाभिमानमा चोट पुगेको दाबी गर्दै उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन तथा सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ।
संगठनका अनुसार वाईसिएल नेपाल केन्द्रीय समितिको निर्देशनअनुसार बुधबार देशभरका ७६ जिल्ला प्रशासन कार्यालयमार्फत एकैसाथ ज्ञापनपत्र बुझाइएको हो। यसअघि मंगलबार वाईसिएल नेपालले देशव्यापी रूपमा मशाल जुलुस प्रदर्शन गरी विरोध जनाएको थियो।

ज्ञापनपत्र बुझाउने क्रममा वाईसिएल नेपाल गोरखाले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गरी माफी नमागे थप संघर्षका कार्यक्रम घोषणा गरिने चेतावनी दिएको छ। संगठनले आवश्यक परे गोरखा जिल्लाभर चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरी सरकारको ध्यानाकर्षण गराउने जनाएको छ।

वाईसिएल नेपाल गोरखाले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान तथा देशको सार्वभौमिकतासँग सम्बन्धित विषयमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य नहुने भन्दै आफ्नो आन्दोलन जारी रहने स्पष्ट पारेको छ।