काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण सम्पन्न भएसँगै परराष्ट्रमन्त्री शिशिर खनालले भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन्।
भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा शनिबार तीनदिने औपचारिक भ्रमणका लागि खनाल दिल्ली जान लागेका हुन् । खनालको भारत भ्रमणको क्रममा नेपाल–भारतबीचका विभिन्न सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ । उनले भारतीय विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि पनि पहल भए पनि निश्चित भइनसकेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भ्रमणका क्रममा कनेक्टिभिटी, सीमा विवाद, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पूर्व–पश्चिम रेलवे, जनकपुर–अयोध्या रेलमार्ग, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान विस्तार तथा व्यापार–पारवहनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी पेट्रोलियम पाइपलाइन विस्तार, नेपालको चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवा तथा भारतमा नेपालीलाई भुक्तानीका लागि क्यूआर प्रणाली लागू गर्ने विषयमा पनि छलफल हुने सम्भावना रहेको बताइएको छ । यद्यपि भ्रमणका एजेन्डाहरू निश्चित गर्न संवाद जारी रहेको छ ।
भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने निर्णय गरेपछि सीमा विवाद पुनः चर्किएको पृष्ठभूमिमा मन्त्री खनालको भारत भ्रमण हुन लागेको हो । भारत भ्रमणमा रहेका सभापति लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा मोदीले नेपाल–भारत सम्बन्धका विषयमा छलफल गर्नुपर्ने विषयको सूची मागेका थिए ।








