काठमाडौं – नेपाल जैन परिषद्, अथाई मिडिया इन्टरनेशनल तथा अखिल भारतीय जैन पत्र सम्पादक संघको संयुक्त आयोजनामा सम्पन्न “नेपाल–भारत मैत्री यात्रा तथा अन्तर्राष्ट्रिय विद्वत् संगोष्ठी” ले काठमाडौंमा ऐतिहासिक छाप छोडेको छ। २४ मेदेखि २ जुन २०२६ सम्म चलेको १० दिने यात्रामा नेपाल र भारतका विद्वान्, पत्रकार, साहित्यकार तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कमलपोखरीस्थित भगवान महावीर जैन निकेतनमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय विद्वत् संगोष्ठी, पत्रकार सम्मेलन र साहित्य उत्सव एकै साथ सम्पन्न गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार यस्तो प्रकृतिको कार्यक्रम विदेशमा पहिलो पटक आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता नेपाल जैन परिषद्का अध्यक्ष सुशील जैनले गरेका थिए भने प्रमुख अतिथिका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक आचार्य डा. लक्ष्मण पन्थी सहभागी भएका थिए। कार्यक्रममा विभिन्न साहित्यिक कृतिहरूको विमोचन समेत गरिएको थियो।
साहित्य उत्सवमा नेपाल र भारतबाट आएका साहित्यकारहरूले कविता, गजल तथा साहित्यिक रचनाहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।
यात्राका क्रममा सहभागीहरूले काठमाडौं, पोखरा, लुम्बिनी, जनकपुर, अयोध्या लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूको भ्रमण गरेका थिए।
समापन समारोहमा सहभागीहरूलाई सम्मानपत्र र पशुपतिनाथको स्मृति चिन्ह प्रदान गरिएको थियो। साथै आचार्य डा. लक्ष्मण पन्थीलाई कार्याध्यक्ष, सुमित जैनलाई विदेश प्रभारी तथा सुशील सेठीलाई नेपाल संयोजक नियुक्त गरिएको घोषणा गरिएको थियो।
आयोजकहरूले यस यात्राले नेपाल–भारतबीचको सांस्कृतिक, साहित्यिक तथा आध्यात्मिक सम्बन्धलाई अझ मजबुत बनाएको बताएका छन्।








