images
images

परराष्ट्रमन्त्री खनाल भोलिदेखि भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबारदेखि छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमणमा जाने भएका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्। बैठकमा दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

परराष्ट्रका अनुसार मन्त्री खनालको भ्रमण दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने, कनेक्टिभिटी, जलविद्युत र ऊर्जा व्यापारमा विद्यमान सहकार्यलाई अघि बढाउने, दुई देशका नागरिकबीचको परम्परागत र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा केन्द्रित हुनेछ।

परराष्ट्रमन्त्री खनाल तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी जेठ २४ गते स्वदेश फर्कने कार्यक्रम छ।