काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताएका छन्।
पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका लामिछानेले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सीमा समस्या समाधान ढोल बजाएजसरी हल्ला गरेर नहुने बताए। उनले उपयुक्त समय र प्रक्रियाअनुसार अघि बढाइने बताए।
उनले उपयुक्त समयमा कूटनीतिक संवादमार्फत हल गर्ने कुरामा भारतसमेत तयार रहेको बताए।
उनले भने, ‘कुनै पनि कुराहरू दुई देशको कूटनीतिक च्यानलमार्फत गराउने कुरा एकदमै महत्वपूर्ण हुन्छन्। त्यो विषयमा हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन। तर, ढोल नबजाइकन आफ्नो देशको बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा सरलबद्ध तरिकाले गर्नुपर्ने हुन्छ। कुनै पनि कामका चरणहरू हुन्छन्। त्यस्ता चरणमा सीमाको विषयमा कुरा गर्नुपर्ने हुन्छ। त्यसकारण सडक र सदनको बहसभन्दा माथि उठेर कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ।’
उनले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको उल्लेख गर्दै त्यही नै सरकारको आधिकारिक धारणा रहेको बताए।








