images
images

छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

काठमाडौँ – पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गठित समितिले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ।

समितिले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएको हो। जेठ १८ गते नै म्याद सकिएको समितिले पाँच दिनको थप म्याद मागेर प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो।

अकुत सम्पत्ति जोडेको, त्यसको स्रोत नभएको र विवादित व्यवसायी दीपक भट्ट साझेदार रहेका तथ्य सार्वजनिक भएपछि गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।

उनीमाथि छानबिन गर्न सरकारले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेको छानबिन समितिले गुरुङलाई लागेका आरोपबाट सफाइ पाउने गरी प्रतिवेदन तयार पारेको छ।