images
images

सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक ढंगबाट समाधान गर्ने विषयमा छलफल भएको बताएका छन्।

तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिने क्रममा कूटनीतिक ढंगबाट सीमा विवाद समाधान गर्नेबारे छलफल भएको बताएका हुन्।

उनले नेपाल र भारतबीच विद्यमान सीमा विवाद समाधान गर्न दुवै देशका संयन्त्रहरूले काम थालेको पनि बताए। उनले भने, ‘सीमासँग सम्बन्धित विषयलाई कूटनीति र अहिले भइरहेका संयन्त्रमार्फत समाधान गर्ने भन्ने पहिलेदेखिकै पोजिसन हो। अहिले सोही ढंगले संयन्त्रले काम गरिरहेका छन्। अहिले कूटनीतिक ढंगबाट समाधान गर्ने भन्ने ढंगमा छलफल भयो।’

मन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको दाबी गर्दै नेपाल–भारत सम्बन्धलाई व्यवहारिक र प्रविधिमैत्री बनाउने दिशामा ठोस प्रगति भएको बताए।

उनले भ्रमणका क्रममा सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको समझदारीअनुसार व्यक्तिदेखि व्यक्तिसम्म हुने सीमापार भुक्तानी कारोबारको पूर्ण सञ्चालन सुरु गरिएको गर्ने आपसी समझदारी भएको बताए।

यस्तै, भारत सरकारको विकास सहायतामा महाभूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य संस्था र १२ साँस्कृतिक सम्पदा पुनर्निर्माण परियोजना औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएकोसमेत बताए।

उनले प्रविधिको क्षेत्रमा काठमाडौँ विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङअन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र भारतको डिजिटल इण्डिया भाषिनी डिभिजनबीच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद मञ्च विकासका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधार सहनिर्माण गर्ने सम्झौतापत्र आदानप्रदान गरिएकोसमेत बताए।

मन्त्री खनालले भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनको विषयमा समेत छलफल भएको उल्लेख गर्दै छिट्टै प्राविधिक समितिको बैठक बस्ने जानकारीसमेत दिए।