काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आगामी जेठ २५ गते बिहान ९ बजेका लागि बैठक बोलाइएको हो।
सिंहदरबारस्थित संघीय संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने सो बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ। बैठकमा सहभागी हुन प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरिएको छ।
महामन्त्री बुर्लाकोटीले जानकारी दिएअनुसार, बैठकका लागि आवश्यक सूचना र आमन्त्रण पत्र सबै राजनीतिक दलहरूमा पठाइसकिएको छ र सम्बन्धित दलहरूबाट बैठकमा सहभागिताका लागि कन्फरमेसन (सुनिश्चितता) समेत भइसकेको छ।
यसअघि सभामुख डोलप्रसाद अर्यालले विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग टेलिफोन संवाद गर्दै बैठकका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए। पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा दलहरूबीच साझा धारणा बनाउने उद्देश्यले रास्वपाले यो बैठक डाकेको हो।








