गोरखा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट सुवर्ण रोकाहा क्षेत्री जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।
निर्वाचनमा कुल २८४ मत खसेको थियो। अध्यक्ष पदका उम्मेदवार सुवर्ण रोकाहा क्षेत्रीले १७६ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी ध्रुव अधिकारीले १०५ मत प्राप्त गरेका थिए। त्यसैगरी, उपाध्यक्ष पदमा सुकबहादुर तामाङ १६९ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी भेषबहादुर खड्काले १०५ मत प्राप्त गरेका थिए।
सचिव पदमा मिलन लामा निर्विरोध निर्वाचित भएका छन् भने सहसचिव पदमा योगेन्द्रजंग बस्नेत १५० मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी राजेश्वर अंगाईले १२२ मत प्राप्त गरेका थिए। रास्वपाका अनुसार अन्य पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका छन्।
नवनिर्वाचित पदाधिकारीहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै गोरखा जिल्लामा रास्वपाको संगठन विस्तार, जनसम्पर्क र राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।








