काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सोमबार विशेष अदालत काठमाडौंमा नगर प्रमुख सिंहले गलत विवरण पेस गरी भट्टराई थर भएकी महिलाकी छोरीलाई आफ्नी छोरी (रुबीना श्रेष्ठ) बनाई नागरिकता दिलाएको कसुरमा आयोगले मुद्दा दायर गरेको हो।
सिंहले वीरगंज महानगरपालिका वडा न. ३ का तत्कालीन पदाधिकारी र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृतसँगको मिलेमतोमा अर्काकी छोरीलाई आफ्नो भनी गलत व्यहोरा खुलाई जन्मदर्ता गराएको र सोही आधारमा नागरिकता सिफारिस तयार पारी २०७५ साउन १३ गते नागरिकता जारी गराएको अख्तियारले जनाएको छ ।
प्रमुख राजेशमान सिंह र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं. १० की रिता भट्टराईलाई मुख्य कसुरदार सरह नै कैद र जरिवानाको सजाय मागदाबी गरिएको छ ।
यस्तै, गलत लिखत तयार पार्ने वीरगंज महानगरपालिका वडा नं। ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोखेलविरुद्ध पनि मुद्दा दायर भएको छ।
उक्त नागरिकता प्रकरणको सत्यतथ्य बुझ्न गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका संयोजक एवं तत्कालीन उपसचिव पुस्कर राना र सदस्य एवं तत्कालीन शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
उनीहरूले कसुरको गम्भीरतालाई पूरै ढाकछोप गरी गलत प्रतिवेदन पेस गरेको र आवश्यक कागजात नष्ट गरिएको कुरा लुकाएको अख्तियारको दाबी छ ।









