images
images

पुराना अभ्यासबाट फाइदा लिइरहेकाहरू अत्तालिएर भ्रम फैलाउन लागेः अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उनले विगतमा जस्तो नीतिगत तहमा हुने पोलिसी कब्जा र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्ने गरी सरकार अघि बढेको बताए। पुराना अभ्यासहरूबाट फाइदा लिइरहेकाहरू अहिले अत्तालिएर भ्रम फैलाउन लागेको भन्दै उनले त्यसलाई ‘अन्तिम छटपटी’ को संज्ञा दिए।

उनका अनुसार अब नियामक निकायहरूमा स्वच्छ, सफा र सक्षम मान्छेहरू आउँछन्। राजनीतिक संयन्त्र, आर्थिक संरचना र नियामक निकायहरू कुनै व्यक्ति विशेष वा भ्रष्ट राजनीतिज्ञको कब्जामा रहने दिन अब सकिएका छन्।

उनले अब विचार र प्रतिभा भएका मानिसहरू लाइसेन्स लिनका लागि शक्ति केन्द्रको पछि दौडनु पर्ने अवस्थाको अन्त्य हुने दाबी गरे। उनका अनुसार अबको निजी क्षेत्र आफ्नो पुँजी र क्षमताको जगमा नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी बन्न सक्नेछ।

उनका अनुसार सुशासनलाई नागरिकको घरदैलोसम्म पुर्‍याउन बजेटमार्फत ‘माइक्रो डेलिभरी’मा जोड दिइएको छ। नागरिक एपजस्ता डिजिटल माध्यमबाट सरकारी सेवाहरू प्रवाह गर्दा विचौलियाको अन्त्य हुने र भ्रष्टाचार न्यूनीकरण हुने बताए।

उनले भने, ‘बजेटमा सुशासनमा बिग हिट नै भनेका छौँ। त्यसैले यसमा म्याक्रो सिण्डिकेटहरू तोड्ने हो। पोलिसी कब्जाको जुन पुरानो अभ्यास थियो, त्योबाट हामी अब धेरै नै अगाडि आइसकेका छौँ। योबाट अत्तालिएकाहरूले अहिले चाहिँ केही भ्रमहरू छर्ने काम पनि गरिरहेका छन्, त्यो अन्तिम छटपटी हो जस्तो मलाई लाग्दछ।’