images
images

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालको बलियो प्रतिबद्धता : आन्तरिक रोजगारी, सुरक्षित आप्रवासन र डिजिटल श्रमिक अधिकारलाई उच्च प्राथमिकता

काठमाडौं-नेपालले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्द्धनको दशकका रूपमा अघि बढाउँदै स्वदेशमै रोजगारीका अवसर सिर्जना, सुरक्षित तथा मर्यादित आप्रवासन र श्रमिक अधिकारको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राखेको जनाएको छ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ११४ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै नेपाल बदलिँदो विश्व श्रम बजारअनुसार श्रमिकमैत्री नीति तथा कार्यक्रम लागू गर्न प्रतिबद्ध रहेको बताएका हुन्।
मन्त्री यादवले डिजिटल तथा गिग अर्थतन्त्रको विस्तारसँगै नयाँ प्रकृतिका रोजगारी बढिरहेको उल्लेख गर्दै यस्ता क्षेत्रमा कार्यरत श्रमिकको हकहित सुनिश्चित गर्न स्पष्ट कानुनी व्यवस्था, सामाजिक सुरक्षा, व्यावसायिक सुरक्षा तथा स्वास्थ्य, एल्गोरिद्मिक निष्पक्षता र व्यक्तिगत डेटा गोपनीयतालाई प्राथमिकतामा राखिएको बताए।

उनले नेपाल सरकारले पहिलोपटक एकीकृत राष्ट्रिय ‘केयर इकोनोमी’ नीति निर्माण गरिरहेको जानकारी दिँदै यसले हेरचाह तथा सेवा क्षेत्रमा रोजगारी सिर्जना, महिला सशक्तीकरण र सामाजिक सुरक्षालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी, जबरजस्ती श्रम अन्त्य गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित प्रोटोकल अनुमोदनका लागि संसद्मा पेश गरिएको उल्लेख गर्दै नेपाल श्रमिक अधिकारको संरक्षण र मर्यादित श्रम सम्बन्ध स्थापनामा दृढ रहेको बताए।
मन्त्री यादवले सरकारको मुख्य लक्ष्य स्वदेशमै उत्पादन र रोजगारी वृद्धि गर्दै युवालाई आफ्नै देशमा अवसर उपलब्ध गराउनु रहेको बताए। साथै, वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हकहित, सुरक्षा र सम्मान सुनिश्चित गर्दै सुरक्षित तथा व्यवस्थित आप्रवासनलाई थप प्रभावकारी बनाइने उनले स्पष्ट पारे।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालको प्रस्तुतिले श्रमिक अधिकार, सामाजिक न्याय, समावेशी आर्थिक विकास र दिगो रोजगारी सिर्जनाप्रति नेपालको प्रतिबद्धतालाई विश्व समुदायमाझ पुनः स्थापित गरेको छ।

आन्तरिक रोजगारी प्रवर्द्धन, डिजिटल श्रमिकको संरक्षण र सुरक्षित आप्रवासनलाई केन्द्रमा राखेर अघि बढ्ने नेपालको नीति आगामी दिनमा श्रम क्षेत्रको सुधार र आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।