काठमाडौँ – विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले अर्थमन्त्री वाग्लेको राजीनामा माग गरेकी हुन्।
करका दरमा गरेको संशोधनलाई लिएर गम्भीर प्रश्न उठाउँदै उनले निष्पक्ष छानबिन नहुँदासम्म वाग्लेले नैतिकताको आधारमा पदबाट अलग रहनुपर्ने बताए।
करका दरमा भएको संशोधनको विषयमा निष्पक्ष छानबिन गरी सुशासनको मानक स्थापना गर्नसमेत ओलीले सरकारको ध्यानाकर्षण गराइन्।
उनले भनिन्, ‘करका दरमा गरेको संशोधनको विषय यति गम्भीर भएको छ कि यस विषयमा निष्पक्ष र विश्वसनीय छानबिन अपरिहार्य भएको छ। त्यसैले छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर सुशासन कायम गर्नको लागि नैतिकता र निष्पक्षताको हिसाबले आफ्नो जिम्मेवारीबाट पर रहनुपर्छ जस्तो लाग्छ।’
संसद्मा प्रस्तुत गरिएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेभसाइटमा राखिएको आर्थिक विधेयकमा करका दरमा एकरुपता नभएको भन्दै अर्थमन्त्री वाग्लेको चर्को आलोचना भइरहेको छ।








