काठमाडौं – धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत खरिद प्रक्रिया अन्तिम चरणमा पुगेपछि कृषकले राहत पाउने अपेक्षा गरिएको छ।
नेपाल सरकारको आग्रहमा भारतले पहिलो चरणमा ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल सहुलियत दरमा उपलब्ध गराउन लागेको हो। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार भुक्तानी प्रक्रिया पूरा हुनेबित्तिकै ढुवानी सुरु हुनेछ।
कृषि सामग्री कम्पनीका अध्यक्ष तथा कृषि मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै नेपालले तत्काल आवश्यकतालाई ध्यानमा राखेर आपूर्ति छिटो गर्न भारतीय पक्षसँग आग्रह गरेको बताए।
मन्त्रिपरिषद्ले वैशाख ११ गते भारतबाट एक लाख मेट्रिक टन रासायनिक मल खरिदका लागि नीतिगत स्वीकृति दिएपछि नेपाल र भारतका सरकारी कम्पनीबीच व्यावसायिक प्रक्रिया अघि बढाइएको थियो। नेपालको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर्स लिमिटेड (आरसीएफ) बीच सम्झौता कार्यान्वयन भइरहेको छ।
यद्यपि सम्झौताअनुसार मल आपूर्ति गर्न १२० दिनसम्मको समयावधि राखिएको छ। तर धान रोपाइँको चटारो सुरु भइसकेकाले नेपालले उक्त अवधि छोट्याउन विशेष आग्रह गरेको छ। भारतीय पक्षले पनि आपूर्ति प्रक्रिया छिटो गर्न सकारात्मक प्रतिबद्धता जनाएको छ।
सरकारी तथ्याङ्कअनुसार हाल देशभरका गोदाममा ८० हजार ९ सय मेट्रिक टन युरिया र ४० हजार ७ सय ६० मेट्रिक टन डीएपी मौज्दात छ। तर मनसुन सक्रिय भएसँगै मलको माग तीव्र रूपमा बढ्ने भएकाले थप आपूर्तिलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
सरकारले चालु आर्थिक वर्षमा ६ लाख मेट्रिक टन मल आपूर्तिको लक्ष्य राखेको छ। हालसम्म करिब ४ लाख ९१ हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढिसकेको कृषि मन्त्रालयले जनाएको छ।
भारतबाट थप मल आउने निश्चित भएसँगै धान रोपाइँको सिजनमा हुने सम्भावित अभाव टर्ने कृषकले आशा गरेका छन्।









