images
images

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद् चल्न सक्दैन: एमाले

काठमाडौं – नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्। उनले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट नहटाएसम्म सदनको कारबाही सहज रूपमा अघि बढ्न नसक्ने बताएका हुन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वाधीनता र भूअखण्डतासँग सम्बन्धित विषयलाई सबैभन्दा गम्भीर रूपमा लिनुपर्ने धारणा राखे। उनले यस्ता विषयलाई सम्बोधन नगरी अन्य कार्यसूचीमा प्रवेश गर्न नसकिने बताए।

उनले भने, “देशको स्वाधीनता सबैभन्दा महत्त्वपूर्ण विषय हो। त्यससँग सम्बन्धित विषय सम्बोधन नगरी अन्य एजेन्डामा जान सकिँदैन। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद्को कारबाही अगाडि बढ्न सक्दैन। देश पहिला हो, देशको स्वाधीनता प्रमुख कुरा हो।”

थापाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारका तर्फबाट परराष्ट्रमन्त्रीले संसदमा दिएको स्पष्टीकरणप्रति पनि असहमति जनाए। उनले परराष्ट्रमन्त्रीको वक्तव्यले उठेका प्रश्नहरूको उचित सम्बोधन गर्न नसकेको संकेत गर्दै त्यसमा आफ्नो समर्थन नरहेको बताए।

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच मतभेद बढिरहेका बेला एमालेले पनि उक्त भनाइप्रति आपत्ति जनाउँदै संसदको अभिलेखबाट हटाउन माग गरेको छ।