images
images

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रश्न उठाउने सांसदहरूका पुराना काण्डहरूसमेत सार्वजनिक गर्ने चेतावनी दिएका हुन्।

अर्थ मन्त्रालयमा बसेर करका दरमार्फत निश्चित व्यापारीलाई पोसेको भन्ने आरोपको खण्डन गर्दै उनले आफूमाथि लागेको २ अर्बको आशंका निराधार रहेको दाबी गरे।

उनले सार्वजनिक लेखा समितिमा समेत आफूविरुद्ध आएका समाचारहरूको खण्डन गरेको उल्लेख गर्दै जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने बताए।

सुशासनको कठोर प्रतिबद्धतासहित आएको दुई महिनामै जनतालाई धोका दिन नसकिने जिकिर गर्दै उनले आफूमाथि औंलो ठड्याउनेहरूलाई पनि नैतिक उचाइ कायम राख्न चुनौती दिए।

उनले आफ्नोबारेमा प्रश्न उठाउने सांसदहरूलाई ‘तपाईंहरूको पनि काण्डहरू थाहा नभएको हो?’ भन्दै प्रश्नसमेत गरे।

उनले भने, ‘मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एक–दुईवटा खोस्टाहरूले २ अर्बको आशंका इत्यादि भनेर लेखे। तर २ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु। सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु। यही नैतिक आँट र यही नैतिक उचाइ मप्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईंका काण्डका बारेमा हामी अनभिज्ञ छैनौँ, ती पनि खुल्नेछन्।’