images
images

रास्वपा नेता–कार्यकर्ता अब अनुशासनमा बाँधिनुपर्छ: बुर्लाकोटी

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताएका छन्।

रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टी स्थापनाको चार वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी रहेकाले पार्टी पङ्क्तिसमेत अनुशासित हुनुपर्ने बताएका हुन्।

‘अधिवेशनहरूले नीति र नेतृत्वमा खार्दै लैजान्छ। हामीलाई पनि महाधिवेशनको चटारो छ, हामी बृहत्तर पार्टी निर्माणमा लागेका छौँ र आफैँलाई कसी लगाउनुपर्ने ठाउँमा आएका छौँ। एकबखत हामी धेरै भोकाएका थियौँ, अहिले मोटाएका छौँ, अब हामीले धेरै चिजहरूमा संयम हुनुपर्दछ। हामी संयम हुन सक्यौँ भने पार्टी कमजोर हुँदैन,’ महामन्त्री बुर्लाकोटीले भने।

उनले कुनै एक व्यक्तिका लागि पार्टी स्थापना गरेर पद सिर्जना नगरिएको भन्दै रास्वपा यो देशका सबै नेपाली नागरिकका लागि भएको र देश निर्माण गरिछाड्ने उल्लेख गरे।

उनले इमानदार कार्यकर्ताका लागि पार्टीले जहिले पनि जिम्मेवारी दिने भएकाले अधिवशेनबाट जिम्मेवारी नपाउने इमानदार र योग्य व्यक्तिलाई विधि बनाएर काम दिइने स्पष्ट पारे।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी र सरकारमा अहिले कुनै पनि समस्या नरहेको बताए। पार्टी सभापति रवि लामिछानेले पार्टी सङ्गठन र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले राजकीय जिम्मेवारी सञ्चालन गर्ने गरी दुई नेताका बीचमा जिम्मेवारी बाँडफाँट गरिएको उनले बताए। पराजुलीले रास्वपाको लामो राजनीतिक अभ्यास र अनुभव नभए पनि पार्टी राष्ट्र निर्माणको अभियानमा लागेको बताए।

प्रतिनिधिसभाका सांसदसमेत रहेका सचिवालय सदस्य सागर ढकालले देशलाई कसरी कायापलट गर्ने भन्ने मूल उद्देश्य पार्टी गठनको रहेकाले अन्य पद र जिम्मेवारीलाई ठूलो नमान्न आग्रह गरे।

पार्टीका प्रदेश सभापति राजन गौतमले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन पहिलो प्राथमिकता रहेको बताए। उनले गण्डकीका ६४ पालिका र ५५५ वडा तथा नौ जिल्लाको अधिवेशन सम्पन्न भएको जानकारी दिए। महाधिवेशनमा ७३५ जना प्रतिनिधि सहभागी रहेका छन्। अधिवेशनबाट नयाँ नेतृत्व चयनको कार्यतालिका रहेको छ।