images
images

वैकल्पिक भनिएका शक्तिहरू विचारशून्य र तर्कहीनः सिके राउत

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले मुलुकमा पछिल्लो समय स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशून्य र तर्कहीन बन्दै गएको बताएका छन्।

काठमाडौँमा शनिबार नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा पनि सेलेब्रिटी प्रवृत्ति र विध्वंशप्रति आकर्षण बढेको टिप्पणी गरेका हुन्।

राजनीतिमा विचार र नैतिकताको प्रधानता हुनुपर्नेमा जोड दिए। उनले हालको राजनीतिक अवस्थालाई विचारशून्य युगको संज्ञा दिँदै सामाजिक सञ्जालमा हुने गालीगलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको बताए।

संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यतामा ह्रास आएको उल्लेख गर्दै उनले प्रधानमन्त्री संसद्‌मा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्त भए पनि सर्वसाधारणले त्यसलाई अनावश्यक ठान्ने परिस्थिति निर्माण हुनु दुःखद भएको बताए।

अध्यक्ष राउतले पछिल्लो समय राज्यले अवलम्बन गरेको डोजर संस्कृतिको पनि आलोचना गरे। भौतिक संरचनाहरू भत्काउनुलाई विकास र शक्तिको प्रदर्शनका रूपमा बुझ्नु गलत भएको उनको भनाइ छ।

पुरानो पुस्ताका नेताहरूले दशकौँ जेलनेल भोगेको र जनताको सेवामा समर्पित भएको भए पनि नयाँ पुस्ताले त्यसको मूल्याङ्कन गर्न छाडेको उनको विश्लेषण छ।

आफूहरूले प्रविधि र नयाँ जमानाको सञ्चार शैलीलाई आत्मसात गर्न नसक्दा पछाडि परेको स्वीकार गर्दै उनले अब नयाँ पुस्ताको चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए।  विचार र सिद्धान्तविहीन राजनीतिले मुलुकलाई कतै नपुर्‍याउने भन्दै उनले राजनीतिक दलहरूमा गम्भीर समीक्षाको खाँचो रहेको बताए।