काठमाडौँ- नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने चयन हुनुभएको छ।
संघको शनिबार (हिजो) काठमाडौँमा सम्पन्न भएको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ-दशौँ वार्षिक साधारण सभाबाट लामिछाने सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो।
यसैगरी अधिवेशनबाट उपाध्यक्षमा प्रदीप राना मगर, महासचिवमा कुमारी बोगटी, सचिवमा डुक्पा घले र कोषाध्यक्षमा मनिषराज पाण्डे चयन हुनुभएको छ। यस्तै अधिवेशनबाट देवेन्द्रकुमार श्रेष्ठ, सहर्देव ढुङ्गाना, टोपबहादुर पौडेल (अर्जुन), केशव निरौला, नवराज बिडारी, विकास श्रेष्ठ, तीर्थबहादुर बुढाथोकी, सुरजप्रसाद नेपाल सदस्यमा चयन हुनुभएको छ।
संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षता तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो। त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रयास कार्की, कानुनी सल्लाहकार रुद्र ढुङ्गेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्यस अवसरमा पत्रकारिता क्षेत्रमार्फत अटोमोबाइल तथा रिकन्डिसन अटो व्यवसाय क्षेत्रको प्रवर्द्धन तथा सचेतना अभिवृद्धिमा योगदान पुर्याएको भन्दै क्यापिटल नेपालका पत्रकार कमला भण्डारी भण्डारीलाई ‘नेपाल रिकन्डिसन अटो व्यवसायी संघ पत्रकारिता पुरस्कार २०८३’ प्रदान गरिएको थियो। उक्त पुरस्कारको राशि नगद २५,००० रुपियाँ रहेको छ।








