images
images

‘कसैले तोकिएभन्दा बढी शुल्क लिए तत्काल हटलाइन ११५१ मा कल गर्नुहोस्’

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलेमन्त्रालय तथा मातहतका निकायबाट सेवा लिने क्रममा तोकिएको शुल्कभन्दा बढी रकम मागिएमा प्रमाणसहित तत्काल उजुरी गर्न सेवाग्राहीलाई आग्रह गरेका छन्। उनले यस्ता गुनासोका लागि मन्त्रालयको हटलाइन नम्बर ११५१ प्रयोग गर्न अनुरोध गरेका हुन्।

मन्त्री श्रेष्ठले पदभार ग्रहणपछि गुनासो सुनुवाइ र तीव्र समाधानलाई मन्त्रालयको प्रमुख प्राथमिकतामा राखिएको बताउँदै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने काम भइरहेको जानकारी दिएका छन्।

मन्त्रालयका अनुसार हटलाइन ११५१ लाई थप सक्रिय र परिणाममुखी बनाइएपछि चैत १३ गतेयता मात्र १३ हजार ८८ वटा गुनासो समाधान गरिएको छ। ती गुनासोहरू मुख्यतः विद्युत् आपूर्ति समस्या (नो लाइट), ट्रान्सफर्मर बिग्रिनु, पोल तथा मिटर अभाव, र भूमिगत विद्युत् जडानसँग सम्बन्धित रहेका छन्।

त्यस्तै, संघीय संसद् र प्रदेश सभाका सदस्यहरूले उठाउने ऊर्जा तथा सिँचाइसम्बन्धी गुनासोलाई पनि तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

सुशासन प्रवर्द्धनका लागि मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार ‘सुशासन एकाइ’ गठन गरी सञ्चालनमा ल्याएको छ। उक्त एकाइले कर्मचारीको कार्यसम्पादन, जिम्मेवारी निर्वाह, कानुनी समयसीमा पालना तथा सेवा प्रवाहको प्रभावकारिता नियमित रूपमा मूल्यांकन गरिरहेको छ।

मन्त्रालयले ‘डेलिभरीमा आधारित शासन प्रणाली’लाई प्राथमिकतामा राख्दै सेवा प्रवाह सुधार, गुनासो व्यवस्थापन र कर्मचारी उत्तरदायित्व बढाउने लक्ष्य लिएको जनाएको छ।