काठमाडौँ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाले आफूहरू दुई महिनाभित्र नेपाल फर्किने सम्पत्ति शुद्धीकरण विभागलाई जानकारी गराएका छन्।
देउवा दम्पत्तीले विभागलाई पत्र लेखेर आफूहरू दुई महिनाभित्र नेपाल फर्किने र अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको जनाएका हुन्। पूर्वप्रधानमन्त्री देउवाका आफन्त तथा स्वकीय सचिव भानु देउवाले विभागलाई पत्र पठाएको पुष्टि गरे।
विभागका महानिर्देशकलाई सम्बोधन गरिएको पत्रमा देउवा दम्पत्तीले आफ्नो बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमण, आगजनी र लुटपाटका कारण लामो समय उपचारमा रहनुपरेको उल्लेख गरेका छन्। उनीहरूले उपचारकै क्रममा आफूहरूविरुद्ध विभिन्न निकायमा उजुरी परेको जानकारी प्राप्त भएको जनाएका छन्।
पत्रअनुसार विभागको अनुसन्धान टोलीले घर परिसरमा पुगेर निरीक्षण तथा खानतलासी गरिसकेको र जलेर नष्ट भएका सामग्रीबाहेक कुनै बहुमूल्य वस्तु वा नगद फेला नपरेको दाबी गरिएको छ। देउवा दम्पत्तीले आफूहरूले विगतदेखि कानुनअनुसार सम्पत्ति विवरण नियमित रूपमा बुझाउँदै आएको पनि उल्लेख गरेका छन्।
उनीहरूले आफ्नोविरुद्ध अनुसन्धान भइरहेको भए पनि हालसम्म कुनै ठोस प्रमाण सार्वजनिक नभएको दाबी गर्दै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पत्रमा आफूहरू अनुसन्धानबाट भाग्न नखोजेको र कानुनी प्रक्रियाबाट आफ्नो निर्दोषिता पुष्टि गर्न चाहेको उल्लेख छ।
देउवा दम्पत्तीले हाल उपचाररत रहेकाले नेपाल फर्किन केही समय लाग्ने जनाउँदै दुई महिनाभित्र नेपाल फर्केर विभागलाई जानकारी गराउने बताएका छन्। साथै, अनुसन्धानमा सहयोग गर्न तयार रहँदारहँदै आफूहरूलाई “देश छाडेर भागेको” वा “अनुसन्धानमा उपस्थित नभएको” भन्ने भाष्य निर्माण नगर्न आग्रह गरेका छन्।








