काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत र चीनको भ्रमणबाट मुलुकको राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो भ्रमणले राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको बताएका हुन्।
परराष्ट्र मन्त्रालयले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको दुई पक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तराष्ट्रिय सहयोग प्रवर्द्धनलगायतका महत्वपूर्ण भ्रमण र भेटघाटसम्बन्धी कार्यहरू सम्पन्न गरेको उनको भनाइ थियो।
उनले भने, ‘परराष्ट्र मन्त्रालयले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको दुईपक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धनलगायतका महत्वपूर्ण भ्रमण र भेटघाटसम्बन्धी कार्यहरु सम्पन्न गरेको छ। नयाँ सरकार बनिसकेपछि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्दै भारत र चीनको भ्रमणलगायत समकक्षीहरूकोसँगको टेलिफोन वार्ता र अन्य कूटनीतिक गतिविधिहरूबाट राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको छ।’
मन्त्री खनालले आफ्नो मन्त्रालयलाई विनियोजन गरिएको बजेटको अधिकतम उपयोग गर्दै तोकिएका कामहरू मितव्ययी र प्रभावकारी रुपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।








