images
images

विगतका सरकारहरूले भन्दा धेरै बढी सडक सुरक्षामा ध्यान दिएका छौँः मन्त्री लम्साल

काठमाडौँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरूले भन्दा सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको दाबी गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले ४ वर्षे योजनासहित सडक सुरक्षाको कार्ययोजना तय गरेर लागू गर्न सुरु गरिसकेको बताए।

मन्त्री लम्सालले आगामी ३ वर्षभित्रमा जिल्ला सदरमुकाम जोड्न सबै एक लेनको सडकलाई दुई लेनमा विस्तार गर्ने पनि बताए।

उनले भने, ‘आजभन्दा अघि जति सरकारहरू थियो, तिनीहरूभन्दा धेरै बढी सडक सुरक्षामा ध्यान दिएका छौँ। अहिले हामीले तीन वर्षको सडक सुरक्षा योजना बनाएका छौँ र यसमा भरपुर बजेट पनि राखिएको छ।’

मन्त्री लम्सालले एक लेनको सडकमा धेरै दुर्घटना भएपछि सरकारले त्यसलाई दुई लेनमा रुपान्तरण गर्नका लागि बजेटको आवश्यक व्यवस्था मिलाएको पनि बताए। उनले सडकको स्तरोन्नतिका लागि बजेटको अभाव नहुने पनि बताए।