काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको १५१ सदस्यीय केन्द्रीय समितिमा सभापति रवि लामिछानेले एक तिहाइ (५१ जना) सदस्य मनोनीत गर्न पाउने भएका छन्।
चैत ७ गतेदेखि चितवनमा रास्वपाको प्रथम महाधिवेशन हुँदै छ। महाधिवेशनबाट पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ।जसमध्ये ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापति लामिछानेलाई हुनेछ।
स्रोतका अनुसार यसमा प्रधानमन्त्रीसमेत रहेका रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहको पनि समर्थन छ। यससँगै पार्टीमा लामिछाने थप शक्तिशाली बन्ने छन्। रविलाई सभापतिमा दोहोर्याउन बालेनलगायत पार्टीका शक्ति केन्द्रहरू सहमत भएको स्रोतको भनाइ छ।
साथै काठमाडौँ, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएसँगै उनी थप शक्तिशाली बनेका छन्। उनीविरुद्ध अब अदालतमा सहकारी ठगीको मुद्दा मात्रै छ।
रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनमा करिब २ हजार ५ सयदेखि ३ हजार प्रतिनिधि सहभागी हुनेछन्। साथै, प्रत्येक जिल्ला समितिले एक जना र प्रत्येक प्रदेश समितिले तीन जना पर्यवेक्षक पठाउन सक्ने व्यवस्था गरिएको छ।
महाधिवेशनमा ३८ भन्दा बढी देशहरूबाट १ सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ। महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको छ।









