images
images

काठमाडौँ जिल्ला अदालतबाट पनि फिर्ता भयो रविबिरुद्ध संगठित अपराधको अभियोग

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको संगठित अपराधको अभियोग फिर्ता भएको छ। अब उनीमाथि सहकारी ठगीको मुद्दामात्र अदालतमा विचाराधीन छ।

काठमाडौं जिल्ला अदालतले लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएसँगै उनीमाथि लागेका संगठित अपराधका कसुरमा उनले उन्मुक्ति पाएका हुन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश जारी गरेको हो।

 जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अभियोग पत्र संशोधनका लागि निवेदन दिएको थियो। उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम सङ्गठित अपराधको दाबी फिर्ता लिन अनुमति दिएको हो।

लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दा भने यथावत् नै रहने छ।

अभियोग संशोधनको अनुमति दिँदा पीडितको न्याय र क्षतिपूर्तिको अधिकारलाई अदालतले मुख्य आधार मानेको छ। सङ्गठित अपराध जस्तो कठोर र लामो फौजदारी प्रक्रियाले पीडितको क्षतिपूर्ति र मिलापत्रको प्रक्रियामा बाधा पुऱ्याउन सक्ने ठहर अदालतले गरेको छ।

यसअघि कास्की र पर्सा जिल्ला अदालतबाट पनि लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका कसुरहरू फिर्ता भइसकेका छन्।