काठमाडौं – वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिबार (असार ६) ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ । परम्परागत सांस्कृतिक विधिअनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहबीच उक्त भोटो प्रदर्शन गरिएको हो ।
भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको पनि सहभागिता थियो । मन्त्रीगणका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।
हरेक वर्ष रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा रहिआएको छ । भोटो जात्रा लिच्छविकालदेखि मनाउने गरिएको विश्वास छ ।
कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्यजडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । न्युज एजेन्सी नेपाल








